बारा, १० असार । बारा कोल्हवी नगरपालिका–९ की राजवती चौधरी गाउँमै खेती गर्छिन् । उनको परिवारका सबै सदस्य खेतीमा निर्भर छ । सानो परिवार रहेको उनीहरुले दुई विघा जमिनमा खेती गरिरहेका छन् । उनले धानबाहेक गहुँ, तोरी, मुसुरो पनि लगाउने गरेकी छन् ।
कृषि ज्ञान केन्द्रको अनुदान सहयोग साना किसान कृषि सहकारी संस्था अमाउबाट अनुदानमा उन्नत जातका धान र गहुँको बीउ पाएपछि उनको कृषि उत्पादनमा बृद्धि भएको छ । खेतमा चैते र वर्खे गरि दुई बाली धान उत्पादन गर्ने चौधरी पछिल्ला वर्ष कृषि उत्पादनसँगै आम्दानी पनि बढ्न थालेपछि खुशी छिन् । परिवारमा श्रीमानले पसल पनि हेर्छन् र कृषिमा पनि सघाउँछन् भने छोरा पढिरहेका छन् ।
जब कृषि ज्ञान केन्द्रको अनुदानमार्फत उन्नत जातका बीउ र कृषि औजार साना किसान कृषि सहकारी संस्था अमाउले गाउँका किसानहरु पाउन थाले तबदेखि स्थानीय कृषकहरुमा खुशियाली देखिन थालेको छ ।
सरकारले भौगोलिक अवस्था जाँच गरेर गहुँ, धान, माछा लगायत विभिन्न जोन, पकेट, सुपर जोन निर्धारण गरेको छ । चौधरीले कृषि ज्ञान केन्द्रले दिएको विभिन्न परियोजना अन्तर्गतको अनुदान सहयोग तीन वर्षअघिदेखि लिन थालेकी हुन् । ‘जब मैले तीन वर्षअघि किसानले अनुदानमा पाउने उन्नत जातको बीउ, मल, औषधि, पम्पसेट लगायतका सुविधा पाउन थालँे त्यसै बेलादेखि व्यावसायिक खेती शुरु भयो । केही वर्षअघिसम्म निर्वाहमुखी खेतीकिसानी मात्रै गरिन्थ्यो,’ उनले भनिन्, ‘खेती किसानीले आफैँलाई मात्रै खान पुग्ने अवस्था थियो । तर अहिले धान बेचिरहेकी छु ।’
सरकारले सिँचाइमा ८५ प्रतिशत र यान्त्रीकरण र बीउ बिजनलगायतमा ५० प्रतिशत अनुदान दिँदै आएको छ ।
कृषि ज्ञान केन्द्र बाराका अनुसार मूल्य सृङखलामा आधारित दुई बाली धान उत्पादन कार्यक्रम र खाद्यान्नमा बाली धान तथा गहुँको बीउ उत्पादन कार्यक्रमका लागि गरि ८ करोड रुपैयाँ अनुदानका लागि बजेट छुट्याएको कृषि प्रसार अधिकृत राम जीवन ठाकुरले जानकारी दिए ।
जिल्लाको कृषि ज्ञान केन्द्रले विभिन्न कृषि सहकारी तथा साना किसान सहकारीसँग समन्वय गरेर उक्त अनुदान रकम दिएर किसानलाई उत्पादन वृद्धिका लागि प्रोत्साहित गरिएको ठाकुरले बताए ।
चौधरीले धान खेतीबाट मनग्य आम्दानी गर्ने उनले केही सम्पति जोडेकी छन् । वर्षमा कम्तिमा पनि दुई लाख रुपैयाँको धान बेच्ने गरेको उनी बताउँछिन् । त्यही आम्दानीबाट उनको छोराको पढाइदेखि घरखर्चसम्म यही धानिएको छ । उनले खेतीबाट भएको आम्दानीको केही हिस्सा साना किसान कृषि सहकारी संस्था अमाउमा बचतसमेत गर्छिन् । उनले खेती गरिरहेको कल्वीनगर–९ को गाउँमा अधिकांशले धान खेती गरिरहेका छन् ।
कृषि ज्ञान केन्द्र बाराबाट अनुदानमा पम्पसेट, बोरिङ पम्पसेट पाएसँगै उनलाई खेतीको काममा सहज भएको छ । आम्दानीका स्रोत नहुँदा कुनै बेला चरम आर्थिक अभाव झेलेको उनको परिवारको जीवनस्तर अहिले भने निकै उकासिएको छ । ‘आम्दानी राम्रै भइरहेको छ, धान बिक्री नहोला कि भन्ने चिन्ता पनि छैन, उनले भनिन्, ‘अझै क्षेत्रफल बढाएर खेती गर्ने सोचमा छु ।’ उन्नत जातको धानको बीउले उत्पादन वृद्धि भइ आम्दानी बढेको उनी बताउँछिन् । कृषि औजार पाएपछि खनजोतमा सजिलो भएको उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्र अधिकृत ठाकुरका अनुसार कृषि ज्ञान केन्द्रले किसानहरूलाई कृषि औजार र बिउ, बिजनलगायतमा अनुदानले किसानले चैते र वर्खे धान उत्पादनमा वृद्धि गरि आर्थिक अवस्थामा सुधार भएको जनाए ।
‘किसानलाई चाहिने भनेको मिहिनेतको मूल्य हो । अहिले धानको मूल्य राम्रो छ । दुख अनुसारको आन्दानी पनि भइरहेको छ । कृषि ज्ञान केन्द्रले उपलब्ध गराएको अनुदानले हामीजस्ता साना महिला किसानहरु एकदमै खुशी छौँ । यस्तो कार्यक्रम धेरै राम्रो छ’ चौधरी भन्छिन् ।
कृषिमा कम भविष्य देख्नेका लागि चौधरीजस्ता महिला कृषक उदाहरणीय बन्न थालेका छन् । उनीजस्ता अन्य कृषकले खेतीर्फत लाखौँ आम्दानी गर्न सफल भएका छन् । नगरपालिकाका धेरै कृषकले व्यवस्थित ढङ्गले कृषि व्यवसाय सञ्चालन गरिरहेका छन् र आम्दानी परि गरिरहेका छन् । ‘खेती हाम्रो पुख्र्याैली पेशा भएकाले यसले मलाई आत्मसन्तुष्टि पनि दिलाएको छ । आम्दानी बढेसँगै हाम्रो परिवारलाई धेरै सजिलो भएको छ ।’
सरकारले कृषकलाई प्रोत्साहन गर्ने विभिन्न खालका कार्यक्रम सञ्चालनमा ल्याएसँगै यसतर्फ कृषकको आर्कषण बढेको देखिन्छ । पकेट, ब्लक जस्ता अन्य विभिन्न कार्यक्रममार्फत कृषकलाई व्यवसायमा लाग्न प्रोत्साहन गरिएको अधिकृत ठाकुर बताउँछन् ।
ठाकुरले भने, ‘अहिले अनुदान लिएर कृषि व्यवसाय गर्नेको संख्यामा वृद्धि भएको छ । यसबाट धेरै कृषकले आफ्नो आयस्रोतमा वृद्धि गरेका छन् । यस वर्ष पनि कृषक लक्षित कार्यक्रम सरकारले सञ्चालन गरिरहेको छ । यसबाट धेरै कृषकलाई लाभ पुगेको देखिन्छ ।’
उनले भने, ‘अहिले पनि यहाँका धेरै किसानाहरुले रैथाने जातको धानको बीउ प्रयोग गर्ने गरेको पाइन्छ, बिस्तारै नयाँ जातका बीउ प्रयोग गर्न थाल्नुभएको छ, नयाँ प्रविधि पनि अपनाउन थाल्नुभएको छ, पोहोर सालको भन्दा यस वर्ष केही मात्रमा धान उत्पादनमा वृद्धि भएको छ, किसानलाई परम्परागत खेती प्रणालीसँगै आधुनिकतासँग जोड्नका लागि कृषि ज्ञान केन्द्रले पनि नयाँ प्रयासहरु थालेको छ, कृषकहरुले कृषिलाई आधुनिकीकरण गर्नसके अहिलेको भन्दा बढी धान उत्पादन गर्न सक्ने सम्भावना देखिन्छ ।’
कृषि ज्ञान केन्द्रमार्फत धेरै कृषकले व्यावसायिक कृषिबाट राम्रो आम्दानी गर्दै आएका छन् । यसले पनि कृषकलाई उत्साह थपेको छ । अधिकृत ठाकुरले सञ्चालित योजनाको अवस्थाका बारेमासमेत नियमित अनुगमन, सुझाव संकलन गरिएको बताएका छन् ।
सरकारले कृषि तथा पशुपालनमा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालनमा ल्याएसँगै यस क्षेत्रमा युवाकोसमेत आकर्षण बढेको छ । कतिपय कानूनी जटिलता तथा पहुँचका आधारमा अनुदान वितरण हुँदा लक्षित कृषकसम्म पुग्न नसेकाले यसतर्फ सजक हुन सरोकारवालाको सुझाव छ । स्थानीय तहहरुमा कृषि शाखा हुन्छ उनीहरुले अग्रसरता देखाउनुपर्नेमा उनीहरुको जोड छ । चैते धानखेती प्रवद्र्धनका लागि बजेट व्यवस्थापन भएकाले चैते धानप्रति किसानको आकर्षण बढेको छ ।
प्रतिक्रिया दिनुहोस्