बारा, १० असार । एसएलसीसम्म पढेका अजय शर्मा, बाडागढी वडा नम्बर ५, बाराका स्थायी बासिन्दा हुन् । उनको जागिर÷पेसा जे भनेपनि अहिले उनले कमाउदै आएको पुख्यौली कृषि व्यवसाय नै हो । कृषिमा जिवन विताएका उनका पीता पुस्ताले धानेको कृषि धान्ने पालो अहिले उनको काधमा आइपुगेको छ । भाई वैदेशिक रोजगारीको क्रममा मलेसियामा छन् । तर उनी चाहेर पनि वैदेशिक रोजगारीमा जान पाएनन् । कारण, बुबाबाजेले गर्दै आएको कृषि व्यवसाय गर्नलाई ।
कृषिकर्ममा उनलाई सघाउनेहरुमा बुबा विद्या ठाकुर लोहर, आमा सावित्रीदेखि लोहार र श्रीमति परमशिला कुमारी पनि रहेका छन् । आफ्नै सवा तीन विगहा जग्गामा खेतीपाती गरिरहेका लोहरका परिवारलाई कृषि व्यवसाय गरेरै फूर्सद छैन् । ११ जनाको संयुक्त तीन पुस्ते परिवारले गरेको कृषि व्यवसाय मात्रै फल्ने, फूल्ने गरेको छैन् । सँगसँगै नाती पुस्ताहरु पनि फल्नेफूल्ने गरिरहेका छन् ।
उनीहरुले अहिले जम्मा जग्गामध्ये सवा दुई विगाहामा चैते धान लगाईरहेका छन् । त्यस बाहेक बर्खे धान, गहुँ, मकै, मसुरो, आलु लगायतका खाद्यन्न बाली पनि लगाउछन् । त्यस वाहेक आँप, लिच्ची, केरा, कटहर जस्ता फलफूलहरु पनि लगाएका छन् । साथमा केहि थान गाईभैँसी पनि पालेका छन् ।
११ जनाको परिवारमध्ये खेतको काम तीन÷चारले गर्ने गरेका छन् । वर्षभरिमा हुने खेतीपातीबाट कमाएको लगभग दश लाख रुपैँयाले मात्रै नपुगेमा मलेसिया गएका अशोकका भाईले पनि घर खर्चमा साथसहयोग गर्ने गरेका छन् ।
उनीहरुले कृषि उपजहरुमात्रै फलाउने, फूलाउने गरेका छैनन् कि संगसंगै छोराछोरीलाई पनि राम्रैसँग फूलाईरहेका छन् । अजय र उनका भाईका पाँच सन्तानले अहिले उच्च शिक्षा हासिल गरिरहेका छन् । कोहि चार्टर एकाउन्टेन्ट पढाई सक्न लागेका छन् । त कोहि विविए, प्लस टु लगायतका क्षेत्रमा पढ्ने काम पनि गरिरहेका छन् । यी सव पढ्नकालागि चाहिने खर्चको जोह पनि यहि कृषि पेसाले गरिदिइरहेको अशोक बताउँछन् ।
‘वच्चादेखि नै कृषि खेती गर्दै आएको हौ’, अशोकले हलोखबरलाई भने, ‘म पढेलेखेको व्यक्ति भएपनि व्यवसायिक कृषि खेतीतर्फ लाग्न नसक्दा परम्परागत खेतीमै रमाउन बाध्य छु । आधुनिक खेती गर्ने इच्छा त छ तर त्यसको मेसो मिलिरहेको छैन् ।’
कृषि ज्ञान केन्द्र, बाराले साना किसान कृषि सहकारी संस्था लिमिटेडसंगको सहकार्यमा किसानहरुसंग काम गर्दै आइरहेको छ । किसानलाई आवश्यक पर्ने बिउबिजनदेखि औजार सामाग्रीहरु पनि प्रस्सस्त सहयोग गर्दै आएको छ । यस खाले सहयोगले किसानहरु एकदमै हर्षित छन् । अजयका अनुसार आफ्नो वडामा रहेका झन्डै एक सय किसानलाई कृषि सहकारी संस्थामार्फत कृषि ज्ञान केन्द्रले सहयोग गर्दै आएको छ । यो सहयोगले खेतीपातीमा उल्लेख्य उपलब्धी हासिल भएको अशोक बताउँछन् । भन्छन्, ‘परम्परागत खेतीमा मात्रै नभएर आधुनिक खेतीतर्फ उन्मूख हुनेगरि खेतीपाती लगाउनमा पनि मद्यत गरेमा आर्थिक आर्जन गर्न झन् सहज हुने थियो । तसर्थ अवका दिनमा पशुपालन, आधुनिक खेतीतर्फ पनि सरकारले ध्यान दिए राम्रो हुने थियो ।’
वर्षेनी झै कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्थानिय तहबाट उनीहरुले सहयोग पाउदै आएका छन् । तर कृषि ज्ञान केन्द्रबाट भने विशेषगरि वोरिगं, मोटर, विभिन्न किसिमका जैविक मल, किटनासन औषधी लगायतका सेवा सुविधा पाएका छन् । वर्षेनी झन्डै एक लाख बराबरको कृषि औजार, धानको बिउ र आवश्यक पर्ने कृषि वस्तुहरु अनुदानमा पाउने गरेका छन् । किसानले ५० देखि ८५ प्रतिशतसम्म अनुदान सहयोगमा ति वस्तुहरु पाउने गरेका छन् । यस्तो सहयोग उनीहरुले विगत ७, ८ वर्षदेखि पाउदै आएका छन् ।
अशोक भन्छन्, ‘सरकारी अनुदान एकदमै राम्रो हुन्छ । नयाँ आउने प्रोजेक्टहरुमा मात्रै नभएर व्यवसायिक खेती गर्नलाई, पशु पालनमा अनुदान पाउदा झनै राम्रो हुने थियो ।’ खेतीकिसानी गर्दा आइपर्ने समस्याको समाधानमा पनि कृषि ज्ञान केन्द्रका प्राविधिकमात्रै नभएर स्थानिय तहका प्राविधिकहरुले पनि सहयोग गर्दै आएको अशोकले बताए ।
प्रतिक्रिया दिनुहोस्