२०८१ पुष ८

कृषक विजय ठाकुर भन्छन्, ‘दृढ इच्छा शक्ति र लगनशीलले स्वादेशी माटोमै बाँच्ने प्रेरणा पाएँ’

Bijay Thakur's Field

काठमाडौं, १० असार । गाउँघरमा केही छैन, केही गर्न सकिन्न भन्दै निराश बनेका युवाका लागि प्रेरणाका स्रोत बनेका छन् बारा जिल्लाको बारागढी गाउँपालिका–१ का ३५ वर्षीय विजय ठाकुर । पुख्र्यौलीदेखि नै खेतीपातीमा रमाउने ठाकुरको परिवार परिश्रममा विश्वास गर्ने भएका कारण विदेशी भूमिमा भन्दा आफ्नै माटोमा सफलता खोज्न लागि परिरहेका छन् । र, त्यसमा सफल पनि भएका छन् । दृढ इच्छा शक्ति र लगनशील भएर माटोसँग खेल्न सक्ने हो भने पैसा कमाउन बिदेसिनु पर्दैन भन्ने गाउँको उदाहरण बनेका छन् ठाकुर ।

उनले आफ्नो खेतमा नियमित खेती गरेर मासिक ४० देखि ५० हजार रुपैयाँसम्म कमाइरहेको बताउँछन् । त्यसको लागि उनलाई कृषि ज्ञान केन्द्रको अनुदान सहयोगमा श्री शुभ स्वस्तीक कृषि सहकारी संस्थामार्फत विभिन्न खालका सहयोग मिलेको छ ।

ठाकुरले आफ्नै ३ बिघा जमिनमा धान खेती लगाएका छन् । सोही जग्गामा दुई दशकदेखि खेती गर्दै आएपनि कृषि ज्ञान केन्द्रले ‘मूल्य सृङ्खलामा आधारित दुई बाली धान उत्पादन’ कार्यक्रम अन्तर्गत परियोजनामार्फत ५० प्रतिशत अनुदानमा बीउबिजन पाएपछि उनले व्यावसायिक रुपले खेती थालेका हुन् । चैते र वर्खे गरि दुई बाली धान लगाउने ठाकुर अहिले गाउँकै मिहेनती किसानका रुपमा परिचित छन् ।

कृषि ज्ञान केन्द्र बाराले किसानका लागि दुईवटा परियोजना सञ्चालनमा ल्याएर काम गरिरहेको जनाएको छ । ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत राम जीवन ठाकुरका अनुसार जिल्लामा दुई परियोजना ‘मूल्य सृङ्खलामा आधारित दुई बाली धान उत्पादन’ कार्यक्रम र ‘खाद्यान्न बाली धान तथा गहुँको बीउ उत्पादन’ कार्यक्रम सञ्चालित रहेको बताए । दुवै परियोजना ४–४ करोड रुपैयाँको रहेको र सोही रकम जिल्लाका कृषि तथा साना किसान सहकारीमार्फत किसानलाई अनुदान उपलब्ध गराइरहेको जानकारी दिए ।

मूल्य सृङखलामा आधारित दुई बाली धान उत्पादन कार्यक्रम परियोजना अन्तर्गत बीउबिजन, यान्त्रीकरण, सिँचाई, रोग किराको निराकरणदेखि प्रविधि प्रसारलगायतका कार्यक्रमहरु कृषि सहकारीमार्फत सञ्चालन छ । यस परियोजनामा ४ करोड बजेट छुट्याइएकोमा चैते र वर्खे धानका लागि अनुदान उपलब्ध गराइएको ठाकुरले बताए । किसानले वर्खे सिजनमा मसिनो तथा बास्नादार धान मात्र उत्पादन गर्नुपर्ने उनको भनाइ छ ।

अनुदानमा उन्नत जातको बीउको धान खेती गरेका बारागढीका किसान ठाकुर भन्छन, ‘कृषिमा यत्तिको उत्पादन र आम्दानी हुन्छ भनेर सोचेकै थिइएन । नसोचेको उत्पादन पाएपछि खेतीबाट निकै उत्साहित भएको छु । सिँचाइका लागि अनुदानमा बोरिङ हालेको छु ।’

आफ्नो खेतमा उब्जाएको अन्नबालीको कमाइले कसैको मुख ताक्न नपरेको ठाकुर बताउँछन् । ठाकुरले जस्तै बारागढीका दर्जनौँ किसानले खेतीबाटै मनग्य आम्दानी गरिरहेका छन् । अनुदानमा पाएको मल, बीउबिजन, कृषिऔजार र उपकरणबाट  किसानले खेती गर्दा राम्रो आम्दानी गरिरहेको उनले बताए ।

पढेका हुन वा नपढेका धेरै युवाको पहिलो रोजाई वैदेशिक रोजगारी भइरहेका बेला यस्ता अनुदानले ठाकुरजस्ता किसानलाई खेतीपाती प्रेरित गरिरहेको छ । उनलाई पनि विदेशमा रहेका साथीहरुले भिषा पठाइदिन्छौँ नभनेका होइनन् तर त्यसको बेवास्था गर्दै व्यावसायिक किसान बनेर वार्षिक लाखौँ कमाइरहेका छन् ।

चैते र वर्षे गरि दुई बाली धान, मकै तथा अन्य बालीबाट उनले मिहिनेत अनुसार कमाइ गरिरहेका छन् । बर्खे धानभन्दा पनि चैते धानको उत्पादन बढेपछि उनी निकै उत्साही भएका छन् ।
कृषि प्रसार अधिकृत ठाकुरका अनुसार उन्नत जातको बीउले किसानहरुको उत्पादन र आयमा वृद्धि भएको छ जसले गर्दा श्रम अनुसारका प्रतिफल पाएका छन् । ज्ञानकेन्द्रले सिँचाइमा ८५ प्रतिशत र यान्त्रीकरण र बीउ बिजनलगायतमा ५० प्रतिशत अनुदान दिने गरेकोे छ ।

आइएसम्म पढेका ठाकुर खेतीबाट नै ‘सफल कृषक’ को परिचय बनाउन सफल भएका छन् । उनी किसानी पेशाबाटै सन्तुष्टि मिलिरहेको बताउँछन् । उनको मनमापनि एक पटक विदेश जाने योजना नआएको होइन । तर उनीसँग आवश्यक पैसा थिएन । त्यसपछि उनले कपाल काट्ने शैलुन सञ्चालन गरे । शैलुनबाट अहिले पनि राम्रै आम्दानी गरिरहेका छन् तर शैलुन पेशा पार्ट टाइमाको काम भएको छ ।

१२ जनाको परिवार खेतीकै भरमा पालिएर छोरोछोरी पढाएर पनि उनले वार्षिक ५-६ लाख बचत गरिरहेका छन् । ‘परिश्रम गरे अनुसार फल पाइरहेको छु, बचत पनि गरेको छु । मलाई नपुगेको केही छैन’ ठाकुर भन्छन् । घरपरिवारमा सबैजना खुशी र सन्तुष्ट छन् । घरपरिवारका अन्य सदस्यले पनि खेतीमा सहयोग गरिरहेका छन् ।

धान स्थानीय बजारमा नै बिक्री हुन्छ । ‘यहाँ बजारको खासै समस्या छैन । धेरैको उत्पादन स्थानीय बजारमा नै बिक्री हुन्छ’ उनले हलोखबरसँग भने, ‘अहिलेसम्म बिक्री नै नहुने समस्या छैन । उत्पादनचाहिँ बढाउनु पर्यो ।’

उन्नत जातको बीउ र कृषिऔजारको प्रयोगपछि राम्रो आम्दानीभएसँगै मख्ख छन् उक्त भेगका किसानहरु । तथापी कृषिमा सबै कुरा ठीकठाक छन् भन्ने छैन । समयमा मल नपाउनु, बालीमा छर्कने औषधी तथा विषादी भारतको भर पर्नुपर्दा र नक्कली पर्नाले पैसा मात्र खेर जाने तर काम नगर्ने हुँदा नेपालमै उत्पादन भएको पाएमा सजिलो हुने उनी बताउँछन् । ‘बजारमा भारतीय औषधी र विषादीमात्रै पाइन्छ । कम्पनी पनि फरक फरकका आइरहन्छ तर कुनै बेला कामै गर्दैन पैसाको मात्रै नाश हुन्छ । कम्तिमा नेपालकै भएमा हामीले पछि दाबी गर्न पनि पाउँथ्यौँ नि । भारतको महँगो पनि हुने नक्कली पनि पर्ने’ ठाकुर भन्छन् ।

ज्ञान केन्द्रका प्रसार अधिकृत ठाकुर पनि उक्त कुरा स्वीकार गर्छन् । उनी भन्छन् ‘सबै किसानको घरखेत पुग्न सकिन्न । थोरै कर्मचारीले सबैतिर अनुगमन र व्यवस्थापन गर्न गाह्रै छ तर सकेसम्म आफ्नो तर्फबाट सक्ने पहल गरिरहेका छौँ । कुनै बेला रोग किराको व्यवस्थापनमा गुनासो आउने गरेको छ । समयमा प्राविधिक पाएनौँ खबरहरु आउँछन् त्यसको लागि स्थानीय तहहरुमा कृषिशाखा हुन्छ उनीहरुले पनि अग्रसरता देखाउनुपर्दछ ।’ हाल आधुनिक तरिकाले खेती गरेको हुनाले धेरै लगानीअनुसार आम्दानी पछिल्लो समय कृषिमा युवाहरुको पनि आकर्षण बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषि क्षेत्रलाई हेर्ने दृष्टिकोणमा भने परिवर्तन हुन जरुरी रहेको किसानहरुको भनाइ छ । ‘कृषि पेसालाई अहिले पनि हाम्रो समाजमा तल्लो स्तरको पेसाको रूपमा लिइन्छ’ किसान विजय ठाकुरले भने, ‘तर एक दिन न एक दिन त किसानहरूले पनि सम्मान पाउलान नी ।’

कृषि पेसा आफू पनि पालिने र अरूलाई पनि पाल्ने पेसा हो । ‘किसानकै उब्जनीले गाउँ, सहरका बासिन्दा बाँचेका छन् । नेतादेखि प्रधानमन्त्री, कर्मचारी हाम्रो पसिनाको कमाइ खाएर सिंहदरबारमा बसिरहेका छन् अनि हामीलाई चाहीँ हेप्ने ?’ उनी प्रश्न गर्छन् ।

कृषिको विकास विना समृद्ध देशको सम्भावना छैन । साथै वास्तविक किसानको पहिचान गरेर मात्रै अनुदान दिनुपर्ने पनि उनले बताए । कृषि पूर्वाधार, बीउबिजन, सिँचाइ, ढुवानी, कृषिउपज सङ्कलन केन्द्र र बजार प्रवद्र्धन लगायतका कार्य सहज बनाउनुका साथै किसानको क्षमता विकास, एकीकृत घुम्ती प्रयोगशाला सेवा, उत्पादन सामग्री सहयोग, कृषि यान्त्रीकरणमा सहयोग, प्रशोधन तथा बजारीकरण पूर्वाधारमा सहयोग, साना सिँचाइ निर्माण तथा मर्मत सम्भार र बजारीकरणमा सरकारले सहयोग पु¥याउने कार्यक्रम ल्याउनुपर्ने ठाकुर सुझाउँछन् । स्वदेशमै केही गर्न चाहने मानिसका लागि स्थानीय सरकारले प्राथमिकतामा राखेर सहयोग र तालिमको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

पछिल्लो समय कृषिको परम्परागत शैलीलाई विस्थापित गर्दै प्रविधिमैत्री खेती विस्तारमा कृषक आकर्षित हुँदै गएका छन् । गोरु र धेरै संख्यामा खेतालाहरू प्रयोगबाट गरिँदै आएको धान खेतीमा पछिल्लो समय कृषकले प्रविधिमैत्री खेतीमा जोड दिन थालेका हुन् । बारामा कृषि ज्ञान केन्द्रको अनुदान सहयोगमा धानको व्याड राख्नेदेखि लिएर थन्क्याउनेसम्मको मेशिनमा कृषक आकर्षित भएका छन् । ठाकुर पछिल्लो समय ब्याड राख्नेदेखि लिएर धान थन्क्याउने सम्मको काम मेशिनबाट गर्ने गरेका छन् । एक त खेताला पाउनै समस्या, पाइहाले खाना खुवाउन झन्झट । अर्को गोरु नपाउने समस्या । अहिले यी सबै समस्याबाट मुक्त छन, ठाकुरलगायतका किसान ।

‘कृषि ज्ञान केन्द्रमार्फत अनुदानमा कृषि औजारहरु ट्याक्टर, थ्रेसर, रिपर, हार्भेष्टर, सिँचाइका लागि बोरिङ, पम्पसेट, मोटर पाएकाले कम जनशक्ति र लागतमा धेरै उत्पादन हुँदा पनि किसान खुशी छन् । ठाकुरले मेसिनको प्रयोग गरी धान रोपे । त्यसो गर्दा उनको खर्च आधाभन्दा बढीले कम भयो । ‘मेसिन र मान्छेले रोपेको धान उत्पादनमा पनि फरक पर्ने रहेछ,’ उनले भने, ‘मेसिनबाट रोप्दा काम गर्ने मान्छेको जोहो गर्नुपर्ने, धेरै खर्च गर्नुपर्ने झन्झट भने हुँदैन त्यसैले हरेक वर्ष मेसिनको प्रयोगबाट धान खेती गर्ने योजनामा छु ।’

यसरी प्रविधिको प्रयोगविना धान खेती गर्दा खर्च बढी हुने तर आम्दानी कम हुने भएकाले पनि किसानको आकर्षण बिस्तारै घट्दै गएको हो । उनी मात्र नभई सयौँ किसान नयाँ प्रविधिको प्रयोग गरेर धान खेतीगर्न पाएपछि दङ्ग छन् । विगत ज्यामीबाट काट्दै आएको धान अहिले मेसिनले काट्न सुरु गरेको छ । मेशिनबाट धान काट्न धेरै सहज भएको बताउँदै १२ जना ज्यामीबाट काटिने धान एक घण्टामा मेसिनले काट्ने गरेको ठाकुर बताउँछन् ।

मेशिनले साना किसानलाई धेरै फाइदा पुग्छ । परम्परागत शैलीमा धान रोपाइँ गर्दा कृषकको लागतभन्दा उत्पादन कम आउने गरेको भन्दै ठाकुरले भने, ‘प्रविधिको प्रयोगले कमलागतमा बढी उत्पादन लिन सकिन्छ ।’

विदेशमा दिइने समय, लगानी, मेहनत आफ्नै देशमा खर्च गरे विदेशमा जति कमाई आफ्नै देशमा गर्न सकिने उनको भनाई छ । ‘अरुको देशमागएर पसिना बगाउनु भन्दा आफ्नै देशमा केहि गरौं भनेर कृषि रोजेको हुँ’, उनी भन्छन्, ‘बरु आफुले सुरु गरेको व्यवसायलाई कसरी अघि बढाउन सक्छौँ, यसतर्फ ध्यान दिऔँ ।’

उनका अनुसार कृषि ऋण सहुलियत रुपमा दिनुका साथै वास्तविक किसानको पहिचान गरेर कार्यक्रमहरु लागू गर्न आवश्यक रहेको छ । ‘किसानलाई सहजकर्जा, मल, बीउ तथा प्रविधिसहित अनुदानमा किसानको पहँुच हुनुपर्छ’, उनी भन्छन्, ‘अनुदानसँगै कृषि बीमाको प्रभावकारी व्यवस्थागर्न आवश्यक रहेको छ ।’ कृषि शिक्षा, र कृषि अनुदानलाई जोडेर युवाहरुलाई व्यावसायिक कृषिमा आकर्षित गर्न खाद्यान्नमा मुलुक आत्मनिर्भर हुने देख्छन् ठाकुर ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain